काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा आज अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुदैछ । मुम्बईस्थित वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।
जारी क्रिकेट विश्वकपमा अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अंकसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अफगानिस्तानले ७ खेलमा ४ खेल जितसहित ८ अंक हासिल गर्दै अंकतालिकामा छैटौं स्थानमा छ ।
अस्ट्रेलिया र अफगानिस्तानबीचको यो खेलको नतिजाले यी दुवै देशको सेमिफाइनलको यात्रा तय गर्ने छ । यद्यपी अफगानिस्तानभन्दा अस्ट्रेलियाको दुई अंक बढी रहेकाले अस्ट्रेलियाले यो खेल हारेपनि सेमिफाइनलको दौडमा कायम रहने छ ।
अस्ट्रेलियाले आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध खेल्ने छ ।
त्यस्तै अफगानिस्तानका लागि यो खेल जितेमा सेमिफाइनलको यात्रा सहज हुने छ । अफगानिस्तानले आफ्नो अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्ने छ ।
अस्ट्रेलिया र अफगानिस्तानबीच अहिलेसम्म ३ एकदिवसीय खेल भएका छन्, जसमा अस्ट्रेलियाले तिनै खेल जितेको छ । दुवैबीच पछिल्लो खेल २०१९ को विश्वकपमा भएको थियो । विश्वकपपछि अस्ट्रेलिया र अफगानिस्तानबीच सिरिज तय भएको भएपनि अस्ट्रेलियाले अफगानिस्तानमा तालिबानको कब्जापछि खेल अस्वीकार गरेपछि स्थगित भएको थियो ।
अष्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, जोश इंग्लिस (विकेटकिपर), ट्राभिस हेड, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), मार्कस स्टोइनिस, जोश हेजलवुड र एडम जाम्पा ।
अफगानिस्तानको सम्भावित प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, अज्मातुल्लाह ओमरजाई, इक्रम अलिखिल, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी र नवीन उल हक ।




