काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा दुवैबीच भेटवार्ता भएको हो ।
राष्ट्रसंघका महासचिवले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको र संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले महासचिव गुटेरेसले संसदमा सम्बोधनका लागि समय प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । नेपालको संसदको नियमावलीमै राष्ट्रसंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ ।
‘नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित तथा आफैंले नेतृत्व गरी शान्ति प्रकिया निष्कर्षमा पु¥याएको स्मरण गर्दछु । नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको थियो ।
नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिवद्व छ ।
दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । आशा छ हामी निकट समयमै ऐन निर्माण गर्नेछौं,’ घिमिरेले भनेका थिए ।





