
काठमाडौं । इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा चार हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ ।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ । इजरायल र गाजाबीचको तनाव यतिकै भएको होइन। यसको सम्बन्ध निकै पुरानो छ । यस किसिमका हमला विगतमा पनि पटक–पटक हुँदै आएका छन्। यी दुईबीच मुख्यगरी जेरुसेलम, सीमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ। इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइन पूर्ण सदस्ययता भने पाएको छैन ।
प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन संघर्षरत छ। संयुक्त राष्ट्रसंघ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भएतापनि अहिलेको इजरायली सत्ताले यो स्विकार्न चाहँदैन। उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ । सो युद्धका कारण गाजा क्षेत्रका विभिन्न सहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठुलो सङ्कट देखिएको र लाखौँ मानिस गाजाबाट विस्थापित समेत भएका छन् । इजरायलको किबूत क्षेत्रको सडकमा कारहरू जलेर खरानी भएको, घरहरूमा रकेट प्रहारबाट क्षति पुगेको समेत देख्न सकिन्छ ।