
काठमाडौं । सयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस आमगी कात्तिक १२ देखि १५ (अक्टोबर २९ देखि नोभेम्बर १०) सम्म नेपालको भ्रमणमा आउने भएका छन् । महासचिव गुटरेसको यसअघि असोज २६ गते आउने कार्यक्रम तय भएपछि इजरायलमा हमास समूहको आक्रमणपछि स्थागित भएको थियो।
कात्तिक १२ देखि १५ गतेसम्म गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले जलवायु परिवर्तनको बिषयलाई केन्द्रीत गरेर काला पत्थर, अन्नपूर्ण सर्किटलागयत अन्य क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।
महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेटवार्ता गर्नेछन्। महासचिव गुटेरेसलाई सरकार प्रमुखलाई दिइने स्तरको सुरक्षा र कूटनीतिक मर्यादा प्रदान हुनेछ ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागिता जनाउन आउँदा नेपाल भ्रमणको निम्तो दिएका थिए ।
नेपाल भ्रमणका क्रममा उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको अध्ययन गर्ने र नोभेम्बरमा युएईमा आयोजना हुने जलवायुसम्बन्धी उच्चस्तरीय सम्मेलनमा विश्वलाई चासो व्यक्त गर्ने गरी उनको कार्यालयले तयारी गरिरहेको छ ।