काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ । यो खेललाई विश्वकपकै ठुलो भिडन्तको रुपमा लिइएको छ । यो खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।
जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २-२ खेल जितेर शानदार शुरुवात गरेका छन् ।
भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो ।
क्रिकेटका चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानका खेलाडी राम्रो फर्ममा रहेकाले यो खेल निकै रोचक हुने अनुमान गरिएको छ ।
विश्वकपमा पाकिस्तानविरुद्ध भारत अपराजित
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक भिडन्त भएको छ तर सबै खेल भारतले जितेको छ । विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन ।
यसअघि पहिलो पटक १९९२ विश्वकपमा दुवैबीच पहिलो खेल भएको थियो, जसमा भारत ४३ रनले विजयी भएको थियो । त्यस्तै १९९६ मा भएको दोस्रो खेलमा भारत ३९ रनले विजयी भएको थियो । त्यसपछि १९९९ मा भएको तेस्रो भिडन्तमा भारत ४७ रनले विजयी भएको थियो भने २००३ मा भारत ६ विकेटले विजयी भएको थियो । त्यसैगरी २०११ मा भारत २९ रनले विजयी भएको थियो भने २०१५ मा भारत ७६ रनले र २०१९ मा भारत डिएलएस मेथड अनुसार ८९ रनले विजयी भएको थियो ।
यसरी यस खेलमा पाकिस्तान विश्वकपमा भारतविरुद्ध पहिलो जितको खोजीमा हुने छ ।
एकदिवसीय खेलमा हेड टू हेड
विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ । दुवैबीच अहिलेसम्म १३४ एकदिवसीय खेल भएका छन् । जसमा पाकिस्तानले ७३ खेल जितेको छ भने भारतले ५६ खेल जितेको छ । त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन ।
भारत र पाकिस्तानबीच पछिल्लो पटक हालै सम्पन्न एशिया कपमा खेल भएको थियो । एशिया कपमा खेलेको पहिलो खेल बर्षाले प्रभावित भएपछि नतिजा आएको थिएन भने दोस्रो खेल भारतले २२८ रनले जितेको थियो ।
यस खेलमा भारतका ब्याट्सम्यान शुभमन गिल खेल्ने बारे स्पष्ट भएको छैन । डेंगु भएपछि गिलले यस अघि दुई खेल गुमाएका थिए तर अहिले उनी ठिक भएर टिमसँग आइसकेको बताइएको छ । तर उनी पाकिस्तानविरुद्ध खेल्ने विषयमा स्पष्ट भएको छैन ।
भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
पाकिस्तानको सम्भावित प्लेइङ ११- बाबर आजम (कप्तान), शाडाब खान, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), साउद शकील र शाहीन शाह अफ्रिदी ।




