काठमाडौँ । स्पेनिस महिला फुटबल खेलाडीहरु अन्तत: राष्ट्रिय टिमबाट खेल्न सहमत भएका छन् ।
स्काई स्पोर्ट्सका अनुसार विश्वकप विजेता स्पेनिस महिला फुटबल टिमका सदस्यले स्पेनिस महासंघका अध्यक्ष लुइस रुबियालेसले खेलाडी जेनी हर्मोसोलाई किस गरेको विरोधमा राष्ट्रिय टिम बहिष्कार गर्ने चेतावनी दिदै आएका थिए ।
स्पेनिस फेडेरेसनका अध्यक्ष लुइसले राजीनामा दिएसँगै केहि खेलाडीले राष्ट्रिय टिम बहिष्कारको निर्णय फिर्ता लिए पनि करिब २० खेलाडीले भने फेडेरेसनमा अझै परिवर्तनको माग गर्दै आफ्नो अडान कायम राखेका थिए ।
तर पछिल्लो समय स्पेनको राष्ट्रिय खेलकुद एजेन्सीले पहल गर्दै खेलाडीहरुसँग ७ घण्टाभन्दा बढी समय वार्ता गरेपछि बहिष्कार फिर्ता लिने सहमति बनेको हो । स्पेनिस फेडेरेसनले बहिष्कार जारी राखेमा कानुनी कारवाही गर्ने चेतावनी दिएपछि खेलाडीहरुमा सहमति गर्ने दबाब बढेको मिडिया रिपोर्टमा जनाइएको छ ।
अहिले राष्ट्रिय टिममा बोलाइएका २३ खेलाडी मध्ये २ खेलाडीले भने व्यक्तिगत कारणले टिमबाट आफ्नो नाम फिर्ता लिएको बताइएको छ ।
स्पेनिस महिला फुटबल टिमले नेसन्स लिग अन्तर्गत स्विडेनसँग सेप्टेम्बर २२ मा र स्वीजरल्याण्डविरुद्ध सेप्टेम्बर २७ मा खेल्ने तालिका रहेको छ ।




