काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तरी युक्रेनको चेर्निहिभमा भएको रुसी क्षेप्यास्त्र आक्रमण अमानवीय भएको बताएको छ । हिजो चेर्निहिभमा भएको क्षेप्यास्त्र प्रहारमा ७ जनाको मृत्यु हुनाको साथै १४४ जना घाइते भएका थिए ।
युक्रेनी रास्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई आतंकवादी हमलाको संज्ञा दिँदै युक्रेनले उपयुक्त जवाफ दिने चेतावनी दिएका छन् । घाइतेमध्ये २५ जनाको अवस्था नाजुक रहेको युक्रेनी अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये केही चर्चमा अर्थोडक्स क्रिस्टियन बिदा मनाइरहेका थिए ।
क्षेप्यास्त्र प्रहारबाट एउटा विश्वविद्यालयका केही भवनमा पनि क्षति पुगेको छ । क्षेप्यास्त्र हमलाले सहरको थिएटरमा निकै क्षति पुगेको छ । सो थिएटरमा ड्रोन उत्पादकहरुको सम्मेलन भइरहेको थियो ।
युक्रेनी गृहमन्त्रीका अनुसार सम्मेलनमा सहभागी सबै समयमै सुरक्षित स्थानमा पुगेका हुनाले त्यहाँ कुनै मानवीय क्षति भने भएन । चेर्निहिभ बेलारुससँगको सिमानाबाट करिब ५० किलोमिटरको दूरीमा पर्छ । फेब्रुअरी २०२२ मा प्रारम्भ भएको युक्रेनमाथि रुसको हमलाका सुरुवाती दिनमा यो सहर रुसी सेनाको कब्जामा थियो ।




