खेलकुद

महिला विश्वकपमा प्रि क्वार्टरफाइनलका खेल आजदेखि

काठमाडौं । फिफा महिला विश्वकपमा आजदेखि प्रि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्। नकआउटको पहिलो खेलमा समूह ‘ए’ विजेता स्विट्जरल्यान्डविरुद्ध समूह ‘सी’ उपविजेता स्पेनले प्रतिस्पर्धा गर्दैछ। यो खेल अकल्यान्डको इडेन पार्कमा बिहान पौने ११ बजे सुरु हुनेछ ।

फिफा महिला विश्वकपमा स्विट्जरल्यान्ड र स्पेन पहिलो पटक भिड्न लागेका हुन्। विश्वकपमा पहिलो भेट भए पनि सन् २०१९ को एक खेलमा स्पेनले स्विट्जरल्यान्डलाई हराएको थियो। २०१५ मा क्याडासँग नकआउटमा हार बेहोरेर घर फर्किएपछि स्विट्जल्यान्डले पहिलो पटक समूह चरण पार गरेको छ। तर यो विश्वकपमा भने स्विट्जरल्यान्ड अपराजित छ।

स्विट्जरल्यान्डजस्तै दोस्रो पटक नकआउट चरण पुगेको स्पेनले भने जारी विश्वकपमा एक हार बेहोरिसकेको छ।

आजै दिउँसो पौने २ बजे हुने खेलमा एसियाली टिम जापानले सन् १९९५ को विश्वकप विजेता नर्वेको सामना गर्नेछ। नर्वे समूह ‘ए’ को उपविजेता हो भने जापान समूह ‘सी’ मा विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। नर्वे र जापानको खेल वेलिङटन रंगशालामा हुनेछ।

सन् २०११ को विश्वकपमा च्याम्पियनसमेत रहेको जापानले यो वर्ष समूहका तीन खेलमा सानदार जित निकालेको छ। सन् १९९९ मा जापानलाई ४-० गोल अन्तरले हराउँदा नर्वेको तर्फबाट गोल गरेका हगे रिज अहिले नर्वेका प्रशिक्षक छन्। त्यसैले यी दुई पूर्व विजेताबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

पाँचौ पटक विश्वकपको नकआउटमा पुगिसकेको जापानले यो संस्करणमा ११ गोल गरेको छ। तर विश्वकप इतिहासमा नर्वे जापानभन्दा बलियो देखिन्छ। किनभने नर्वे अहिलेसम्म आठ पटक नकआउटमा चरण पुगेको इतिहास छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *