खेलकुद

नेपाली सेनाका हरिचन्द्र गिरी पाँचौँ विश्वकीर्तिमानको तयारीमा

काठमाडौं । नेपाली सेनाका हरिचन्द्र गिरी पाँचौँपटक विश्वकीर्तिमान राख्ने तयारीमा छन् । यसअघि चौथो विश्वकीर्तिमान राख्ने क्रममा उनले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका थिए ।

अब रेकर्ड राख्ने क्रममा उनले टायरमाथि डोरी खेल्नेछन् । ‘मोस्ट स्किपिङ अन टायर इन वन मिनेट’ टायरमाथि एक मिनेटमा सर्वाधिक डोरी खेल्ने रेकर्डको अभ्यास गरिरहेका छन् । उनले एक मिनेटमा १२६ पटकसम्म खेलेर अभ्यास गरेका छन् ।

गत जेठमा उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिँढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धि हासिल गरेको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । यसअघि अमेरिकाका मार्क केनीले ३०.८ सेकेन्डमा बनाएको कीर्तिमान गिरीले तोडेका हुन् ।

त्यसअघि उनले हातले टेकेर ५० वटा सिँढी ओर्लने, खुट्टाको बीचमा बल च्यापेर हातले मात्र टेकेर ५० मिटर हिँड्ने र १० मिटर हिँड्ने विधामा पनि कीर्तिमान कायम गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *