स्टकहोम । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक ग्रन्थ कुरानको अपमान गरेको विषयलाई लिएर इराक र स्विडेनबीच कुटनीतिक तनाव बढेको छ ।
स्विडेनको राजधानी स्टकहोममा कुरान जलाउने योजनाको विरोधमा इराकले बग्दादस्थित स्विडिश राजदूतलाई देश छाडन आदेश दिएको छ । इराकले आफ्ना कार्यवाहक राजदूतलाई पनि फिर्ता बोलाएको छ । उसले स्विडिश कम्पनीहरुसँगको व्यवसाय पनि निलम्बित गरेको छ ।
बिहीबार नै आक्रोशित प्रदर्शनकारीको एउटा भिडले बग्दादस्थित स्विडिश राजदूतावासमा दोस्रो पटक तोडफोड तथा आगजनी गरेको थियो ।
एक जना इराकी क्रिश्चियन शरणार्थीलाई स्विडिश प्रहरीले दोस्रो पटक स्टकहोममा कुरान जलाउन अनुमति दिएको विरोधमा प्रदर्शनकारी फेरि आन्दोलित हुन पुगेका हुन् ।
उता स्विडेनमा भने कुरान जलाउने अनुमति पाएको व्यक्ति सल्वान मोमिकाले स्टकहोमस्थित इराकी दूतावास अगाडि कुरानको अपमान गरेका छन् । यद्यपि कुरानलाई आगो भने नलगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत महिना ती व्यक्तिले स्टकहोमको मुख्य मस्जिद अगाडी कुरानको एक प्रति जलाएका थिए ।
स्विडेन प्रहरीले सुरुमा मोमिकालाई कुरान जलाउने अनुमति दिन अस्वीकार गरेको थियो तर अभिव्यक्ति स्वतन्त्रता भन्दै अदालतले प्रहरीको प्रतिबन्धलाई उल्टाइदिएको थियो ।
मुस्लिम देशहरू इरान, टर्की, कतार, साउदी अरबलगायतका देशले कुरानविरुद्ध प्रदर्शनको अनुमति दिएको भन्दै स्विडेनको भर्त्सना गरेका छन् । इसाईहरूका सर्वोच्च धर्मगुरु पोपले पनि मोमिकाको गतिविधिको भर्त्सना गरेका छन् । यो घटनासँगै स्विडेनको अभिव्यक्ति स्वतन्त्रता कानुनको सीमामाथि पनि प्रश्न खडा गरिदिएको छ ।
उता अमेरिका, बेलायत र युरोपेली संघले बग्दादस्थित स्विडिश दूतावासमा भएको आक्रमणको भर्त्सना गरेका छन् ।




