काठमाडौँ । लियोनेल मेसीले पिएसजीमा आफ्ना सहकर्मी रहेका युवा खेलाडी किलीयन एम्बाप्पेलाई रियल म्याड्रिड जान सुझाव दिएका छन् ।
इन्टर मियामी जाने घोषणा गरेका मेसीले एम्बाप्पेसँगको बिदाइ भेटमा रियल म्याड्रिडमा जान सुझाव दिएको स्पेनिस मिडिया डिफेन्सा सेन्ट्रलले उल्लेख गरेको छ ।
पिएसजीमा २०२४ पछि सम्झौता नवीकरण नगर्ने घोषणा गरेका एम्बाप्पेलाई मेसीले उपाधि जित्न सक्ने प्रोजेक्टमा जान आग्रह गरेको उल्लेख गरिएको छ । मेसीले एम्बाप्पेलाई बार्सिलोना जस्तो क्लबमा जान आफुले सुझाव दिने बताएको तर रियल म्याड्रिड जान चाहेमा पनि त्यहाँ जान सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । पिएसजीलाई ५ लिग वान र ३ फ्रेन्च कप जिताएका एम्बाप्पेले च्याम्पियन्स लिगमा भने सफलता हासिल गर्न सकेका छैनन् ।
मेसीले ‘रियल विनिंग प्रोजेक्ट’ मा जान दिएको सुझावलाई एम्बाप्पेले अवलम्बन गर्न लागेको देखिएको छ । उनले पिएसजीलाई २०२४ पछि सम्झौता नवीकरण नगर्ने लिखित पत्र नै पठाएपछि पिएसजीले आउदो सिजनका खेल शुरु हुनु अघिनै एम्बाप्पेलाई बेच्ने तयारी गरेको छ । पिएसजीले अहिले एम्बाप्पेलाई बिक्रि नगरेमा सिजनको अन्त्यपछि उनी नि: शुल्करुपमा कुनै पनि क्लबमा जानसक्ने भएकाले बेच्ने तयारीमा लागेको छ ।
यसैबीच पिएसजी कम्यूनिटीले एक एक्सक्लुसिभ खबर भन्दै एम्बाप्पे केहि दिनमै रियल म्याड्रिड जाने उल्लेख गरेको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई रेकर्ड २५० मिलियन युरोमा किन्ने तयारी गरेको उल्लेख छ । जसमा रियलले २०० मिलियन युरो शुल्क तिर्ने र करिब ५० मिलियन युरो बोनस लगायतका अन्य शुल्क रहेको उल्लेख छ ।
यदि यो रकममा रियलले एम्बाप्पेलाई किनेमा फुटबल ट्रान्सफरको इतिहासमा अहिलेसम्मकै ठुलो ट्रान्सफर हुने छ । अहिलेसम्म २०१७ मा पिएसजीले बार्सिलोनाबाट नेइमारलाई २२२ मिलियन युरो खर्च गरेर भित्र्याएको रेकर्ड रहेको छ ।




