काठमाडौँ । कुशल भुर्तेल र असिफ सेखले एकदिवसीय क्रिकेटमा जिम्बाबेविरुद्ध शानदार ब्याटिंग गर्दै कीर्तिमानी साझेदारी गरेका छन् ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ओपनर कुशल र आसिफले कीर्तिमानी साझेदारी गरेका हुन् । कुशल र आसिफले पहिलो विकेटका लागि अहिलेसम्मकै ठुलो १७१ रनको साझेदारी गरेका छन् ।
यसअघि कुनै पनि विकेटका लागि नेपालको एकदिवसीय क्रिकेटमा १३९ रनको साझेदारी थियो ।
गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ सेखले १३९ रनको साझेदारी गरेका थिए ।
त्यस्तै पहिलो विकेटका लागि पनि एकदिवसीय क्रिकेटमा नेपालको अहिलेसम्मको ठुलो साझेदारी हो ।
यसअघि पहिलो विकेटका लागि कुशल र आसिफबीच २०२२ को जुनमा ओमानविरुद्ध ११४ रनको साझेदारी भएको थियो ।
कुशल र आसिफले सो रेकर्डलाई आजको खेलमा तोडेका छन् ।




