काठमाडौं । मनसुनी प्रणालीको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्क देखि मध्यम वर्षा हुने पूर्वानुमान छ । मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थान क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि (शुक्रबार) र शनिबार पनि कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
नेपालमा औसत समयभन्दा एक दिन ढिला गरी हिजो (बुधबार) मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणाली आगमन भएको जनाएको छ ।




