
काठमाडौं । हाल देशका पहाडी भ-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सफा छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो देशका थोरै स्थानमा वर्षाको सम्भावना छ । महाशाखाकाअनुसार आंशिकदेखि सामान्य बदली भइ कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको हुनेछ ।
राति कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका मध्य तथा पश्चिमी तराईका भू-भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको र त्यसबाट ती भू-भागमा तातो हावा (लू) चल्ने जनाएको छ । अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको तापक्रम वृद्धि भइरहेको छ । वर्षाको सम्भावना कम हुँदा तराईमा अत्यधिक गर्मी बढ्दा जनजीवन प्रभावित भइरहेको छ । महाशाखाकाअनुसार शुक्रबार भैरहवा र जनकपुरमा सबैभन्दा धेरै तापक्रम मापन भएको छ । दुवै स्थानको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस पुगेको थियो ।
भोलि (आइतबार) पनि देशका केही स्थानमा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।