काठमाडौं । अन्डर ट्वान्टी विश्वकपमा ट्युनिसियामाथि ४-१ गोलको अन्तरले जित हात पार्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जेन्टिनामा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलको पहिलो हाफमै ब्राजिलले २-० गोलको अग्रता लिएको थियो । ११औं मिनेटमा मार्कस लियोनार्दोले पेनाल्टीमा गोल गरेका थिए ।
३१औं मिनेटमा आन्द्रे सान्तोसले अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा डिफेन्डर रोबर्ट नेनन सीधै रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा झरेको थियो । तर त्यसका बाबजुत ट्युनिसियाले पाँचपटकको च्याम्पियन ब्राजिललाई रोक्न सकेन ।
उपाधि दाबेदार ब्राजिलले इन्जुरी समयमा दुई गोल थप्यो । उसका लागि म्याथ्युज मार्टिन्स र सान्तोसले व्यक्तिगत दोस्रो गोल गरेका हुन् । ट्युनिसियाका मोहम्मद घोरबेलले सान्त्वना गोल फर्काए ।




