काठमाडौँ । अन्योलताका बीच एशिया कपको विषयमा पाकिस्तानले नयाँ प्रस्ताव राखेको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख नजाम सेठीले बीबीसीको स्टम्प पोडकास्टसँगको कुराकानीमा पाकिस्तानले एशिया कपका १३ मध्येको ४ खेल आफूले आयोजना गर्न चाहेको र फाइनलसहितका ९ खेल तटस्थ भूमि (युएई) मा आयोजना गर्ने प्रस्ताव राखेको जाकारी दिएका छन् ।
भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको अवस्थामा पाकिस्तानले यो नयाँ प्रस्ताव राखेको हो । यसअघि भारतले आफ्नो खेल सबै तटस्थ भूमि यूएईमा खेलेर आफू आयोजक बन्न तयार रहेको पीसीबीको प्रस्तावलाई भारतले अस्वीकार गरेको जनाइएको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) का पदाधिकारीहरूले पनि यो प्रस्तावलाई अस्वीकार गरेका थिए ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसहित नेपालले सेप्टेम्बर २ देखि १९ सम्म हुने एसिया कपमा सहभागिता जनाउने तालिका रहेको छ । नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको छ । तर एसीसीले अहिलेसम्म एसिया कपको आयोजक टुंगो लगाउन नसक्दा अन्योल बढ्दै गएको छ ।
सेप्टेम्बरमा यूएईमा उच्च तापक्रम हुने जनाउँदै श्रीलंका र बंगलादेशले पाकिस्तानको तटस्थ भूमि प्रस्तावलाई अस्वीकार गरेका छन् । उनीहरुले श्रीलंका एशियाकप आयोजनाको सहि विकल्प हुने सुझाव एसीसीलाई दिएका छन् ।
भारत र पाकिस्तानको समूहमा नेपाल रहेको छ । पाकिस्तानले राखेको ४ खेल आफ्नो भूमिमा हुनुपर्ने प्रस्ताव पारित भएमा नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानी भूमिमा खेल्नुपर्ने हुन सक्छ । त्यसो भएमा भारतसँगको खेल तटस्थ भूमिमा हुनेछ ।
अर्को तर्फ पाकिस्तानले एशिया कप खेल्न भारत आफ्नो भूमिमा नआउने भएपछि आफु पनि भारतमा हुने विश्वकप खेल्न अक्टोबर–नोभम्बरमा भारत नजाने बताइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार एशियन क्रिकेट काउन्सिलले एशिया कपको आयोजनाको विषयमा यस महिनाको अन्त्यसम्ममा ठोस निर्णय लिने बताइएको छ ।




