काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा अहिले मलेसियाले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।
किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि ललित राजबंशीले १२ रन बनाएर खेलिरहेका मलेसियाका विजय उनइलाई आउट गरेका हुन् । ललितको यो दोस्रो विकेट हो ।
नेपालका लागि यसअघि सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल मलेसियाले ३९.१ ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको छ ।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्ने छन् ।
विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।




