काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज पुराना प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लब आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयमा अनुसार साँझ पौने ६ बजे दशरथ रंगलशालामा सुरु हुनेछ ।
८ पटकको च्याम्पियन मनाङ जारी लिगमा अपराजित छ । शीर्ष स्थानमा रहेको मनाङले ६ खेल खेल्दा ४ मा जित र २ मा बराबरी खेलेको छ ।
आजको खेलमा जित हात पारेमा मनाङले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने मौका पाउनेछ । यता पूर्व विजेता थ्रीस्टार सातौँ स्थानमा छ ।
हाल सातौँ स्थानमा रहेको थ्रीस्टार लय समाउने कोशिसमा छ । भेट्रान खेलाडी सन्तोष साहुखलको अनुबन्धपछि टिमले परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ। अघिल्लो वर्ष यी दुईबीच प्रतिस्पर्धा हुँदा खेल १ – १ गोलको बराबरीमा रोकिएको थियो ।
आज मनाङले पराजय बेहोरे चर्च ब्वाईजलाई फाइदा हुन सक्छ । आज चर्च ब्वाईजले एपीएफलाई हराए शीर्ष स्थानमा उक्लने मौका रहनेछ । यो खेल च्यास मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ । यता सोही समयमा रेलिगेसन ब्याटलमा रहेका नेपाल पुलिस र फ्रेन्डस आमनेसामने हुनेछन् । यो खेल एन्फा कम्पलेक्समा हुनेछ ।




