खेलकुद

आईपीएलमा हैदराबादलाई पहिलो सफलता

हैदराबाद । सनराइजर्स हैदराबादले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा हैदराबादले पंजाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। पंजाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनायो ।

खराब ब्याटिङ गरेको पंजाबलाई कप्तान शिखर धवनले सम्हाले । एक समय पंजाब ९ विकेटमा ८८ रनको नाजुक स्थितिमा थियो । ओपनर प्रभसिमरन सिंह पहिलो ओभरको पहिलो बलमै आउट भए ।

म्याथ्यु सट एक र जितेश शर्मा ४ रनमा मैदान बाहिरिए । साम करणले २२ रन जोडे । पंजाबका ९ खेलाडीले दोहोरो रन छुन सकेनन् । धवन सम्झन लायक इनिङस खेल्दै ९९ रनमा अविजित रहे । उनले नवौँ विकेटका लागि मोहित राठीसंग मिलेर ३० बलमा ५५ रनको साझेदारी गरेपछि पंजाबले एक सयको आंकडा पार गरेको हो । ६६ बल खेलेका धवनले १२ चौका र ५ छक्का प्रहार गरे । मोहितले भने २ बल खेलेर १ रन बनाएका थिए । मयंक मारकन्डेले चार विकेट लिए ।

जवाफमा हैदराबादले १७ ओभर १ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । ह्यारी ब्रुक १३ र मंयक अग्रवाल २१ रनमा आउट भएका थिए । राहुल त्रिपाठीले ४८ बलमा ७४ रनको योगदान गरे । कप्तान ऐडेन माक्रमले ३७ रन बनाए । हैदराबादको ३ खेलमा यो पहिलो जित हो । पंजाबको ४ अंक छ ।

आईपीएलमा आज साँझ पौने आठ बजे रोयल च्यालेन्जर्स बैङलोर र लखनउ सुपर जायन्ट्स बीच खेल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *