खेलकुद

लगातार दोस्रो जित निकाल्दै गुजरात शीर्ष स्थानमा

दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । गुजरातको यो लगातार दोस्रो जित हो भने दिल्लीको दोस्रो हार हो ।

गुजरातको जितमा साई सुदर्शन र डेविड मिल्लरले उत्कृष्ट इनिङस् खेले । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । पृथ्वी शअ ५ र मिचेल मार्स ७ रनमा आउट भए । कप्तान डेविड वार्नरले ३७ रन जोडे । राइली रोस्सोले खाता खोल्न सकेनन् । अभिषेक पोरेलले २० र सरफराज खानले ३० रन बनाएका थिए । अक्सर पटेल ३६ रनमा मैदान बाहिरिए । मोहम्मद सामी र रासिद खानले तीन-तीन विकेट तथा अल्जारी जोसेफले दुई विकेट लिए।

जवाफमा गुजरातले १८ ओभर एक बलमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको गुजरातका तीन ब्याटर टिमको स्कोर ५४ रन हुँदा पभेलियन फर्किए । रिद्धिमान साह १४, सुभम् गिल १४ र कप्तान हार्दिक पान्ड्या ५ रनमा आउट भएका थिए । विजय शंकर २९ रनमा मैदान बाहिरिए । २१ वर्षीय सुदर्शनले अर्धशतकीय इनिङस् खेलेपछि गुजरातले सहज जित हात पारेको हो । उनले ४८ बलमा अविजित ६२ रनको योगदान गरे ।

मिल्लरले १६ बलमा ३१ रन जोड्दै सुदर्शनलाई अन्तिम समयसम्म साथ दिए । गुजरात दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *