काठमाडौं । आसन्न चुनावमा सिन्धुपाल्चोकका दुईवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले ‘क्लिन स्विप’ गर्ने देखिएको छ । अघिल्लो निर्वाचन र स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा गठबन्धनका उम्मेदवार बलिया देखिएका छन् । सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका माधव सापकोटा र एमालेका सरेश नेपालबीच प्रतिस्पर्धा हुँदैछ ।
यो क्षेत्रमा कांग्रेस एक्लैको ३४ हजार मत छ । दोस्रोमा एमालेको २६ हजार मत छ । माओवादी केन्द्रको १६ हजार मत छ । कांग्रेस र माओवादीको मत जोड्दा ५० हजार हुन्छ । त्यसैले पनि यो क्षेत्रमा माओवादीका सापकोटा विजयी हुने धेरैको अनुमान छ । तर माओवादीको यो क्षेत्रमा बागी उम्मेदवार भएकाले गठबन्धनमा तनाव उत्पन्न भएको छ । त्यसमा पनि नेपाली कांग्रेसमा पनि असन्तुष्टि देखिएको छ । प्रभावशाली नेता मोहनबहादुर बस्नेतलाई यो क्षेत्रमा उम्मेदवार नबनाएकाले कांग्रेसमा असन्तुष्टि छ ।
यता सिन्धुपाल्चोक–२ मा यसपटक मोहनबहादुर बस्नेत कांग्रेसका उम्मेदवार बनेका छन् । उनी सिन्धुपाल्चोक १ मा उम्मेदवार बन्दै आएका थिए । यसपटक बस्नेतको एमालेका निवर्तमान सांसद शेरबहादुर तामाङसँग प्रतिस्पर्धा हुँदैछ । तामाङ मतदाता धेरै भएकाले आफू दोहोरिनेमा शेरबहादुर आशावादी देखिएका छन् । तर, गत स्थानीय तहको निर्वाचनको मत परिणाम विश्लेषण गर्ने हो भने कांग्रेसका बस्नेतको जित सुनिश्चित देखिएको छ ।
सिन्धुपाल्चोक–२ मा पहिलो दलका रूपमा रहेको एमालेको मत ३१ हजार ७ सय ७६ छ भने कांग्रेसको २९ हजार तीन सय दुई, माओवादीको १६ हजार ७९, राप्रपाको पाँच हजार नौ सय ३२ र एकीकृत समाजवादीको एक हजार ६ सय ६३ मत छ । यो क्षेत्रमा राप्रपाले पनि उम्मेदवार उठाएकाले एमालेको मत साढे ३१ हजार देखिन्छ । तर, कांग्रेसको २९ हजार, माओवादीको १६ हजार र एकीकृत समाजवादीको साढे एक हजार जोड्दा ४७ हजार हुन्छ ।




