समाचार

अहिलेको सरकारले ल्याएको बजेटबाट डराए ओली

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि गठबन्धन टुट्छ, चुनावी नतिजाले अहिलेको सरकार ढल्छ भन्ने अभिव्यक्ति दिँदै आएका एमाले अध्यक्ष केपी ओली पाँचदलीय गठबन्धन अझ सशक्त ढंगले जाने भएपछि तनावमा परेका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि तालमेल गरेर जाने निर्णय गरेपछि साँझ बसेको एमाले संसदीय दलको बैठकमा ओलीले अहिलेको सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

आजदेखि संसदको बैठकमा बजेटमाथि छलफल सुरु हुँदैछ । अहिलेको सरकारले ल्याएको बजेट वास्तविक र धरातलीय यथार्थमा रहेर आएपछि एमालेमा छटपटी बढेको हो । चुनावलाई प्रभावित पार्ने आशंका गर्दै एमाले बजेटबाट डराएको हो ।

‘अहिलेको बजेट पूर्ण रूपमा देशलाई भड्खालोमा हाल्ने गरी ल्याइएको छ । देशको अर्थतन्त्रको समस्या सम्बोधन नगर्ने यस्तो बजेट कार्यान्वयन भयो भने देशलाई भड्खालोमा पर्नबाट कसैले पनि जोगाउन सक्दैन,’ ओलीको भनाइ थियो, ‘तपाईंहरूले देशलाई भड्खालोमा हाल्ने यस्तो बजेटको जनताको माझमा पुगेर भण्डाफोर गर्नुस्, तथ्य र तर्कका आधारमा सदनमा पनि शालीनताका साथ चिरफार गर्नुस् ।’

बैठकमा ओलीले आमनिर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी पनि गरेका थिए । ‘पाँच महिनामा चुनाव हुँदै छ, त्यसपछि बजेट कार्यान्वयन गर्ने मान्छेहरू नै सरकारमा रहँदैनन्, देशको राजनीति नयाँ कोर्समा अगाडि बढ्छ,’ ओलीले भने, ‘एमालेका सांसदहरू सदनमा व्यवस्थित ढंगले, अध्ययनशील, तर्कशील र शालीन ढंगले प्रस्तुत हुनुस्, तथ्य र तर्कका आधारमा बजेट गलत छ भन्ने प्रमाणित गर्ने गरी तयारीमा लाग्नुस् ।’

सोमबार बसेको सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तहको नतिजा सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले नतिजा सन्तोषजनक भएको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समिति र कार्यपालिकामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले ७७ वटा जिल्ला समन्वय समिति र कार्यपालिकामा सहमति गरेर अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय गरेको हो । ‘

अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । सोमबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायत नेताहरूको उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *