स्थानीय तह निर्वाचन-२०७९

कञ्चनपुर बेदकोट : एमालेले गुमायो विरासत, कांग्रेस विजयी

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा नेकपा एमालेले विरासत गुमाएको छ । यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बेदकोट नगरमा वर्चश्व जमाएको छ ।

०७४ सालमा एक वडामा सीमित भएको कांग्रेसले यसपटक मेयर उपमेयरसहित ५ वडामा बाजी मार्न सफल भएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर उपमेयरसहित ८ वडामा जितेको एमाले यसपटक २ वडामा खुम्चिन पुगेको छ ।
यस्तै गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जित निकालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि बेदकोटको एक वडामा जित हासिल गरेको छ । नेपाली कांग्रेसका भोजराज बोहरा र तुलसी जोशी दोस्रो प्रयासमा मेयर र उपमेयर बन्न सफल भएका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलसी जोशी उपमेयरमा निर्वाचित भएका हुन् । यसअघि ०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशीला सिंहसँग पराजित भएका थिए ।

मेयरमा निर्वाचित बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेकी सुसिला सिंह ४,७४० मत प्राप्त गरिन् । माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३,८९८ र राप्रपाका बमबहादुर बलमे १,७५१ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकी तुलसी जोशी ७,२५४ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५,७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३,६५२ मत प्राप्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *