काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्ने छन् ।
७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिका र नगरपालिकामा एक/एक जना अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख निर्वाचित हुनेछन् । यस्तै पालिकाका प्रत्येक वडामा पाँच सदस्यीय वडा समिति निर्वाचत हुनेछ ।
आसन्न स्थानीय निर्वाचनमा ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउँछन् । मत सङ्केत गर्ने दिन मतदाता फोटोसहितको मतदाता परिचयपत्र लिएर आफ्नो नामावली भएको मतदान केन्द्रमा जानुपर्नेछ ।
मतदानको दिन नजिकिएसँगै निर्वाचन आयोग तथा राजनीतिक दलहरुले मतदाता शिक्षाका कार्यक्रम अगाडि बढाएका छन् । आयोगले सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमार्फत मतदानका लागि अपिल गर्दै आएको छ । यस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारले मतदातालाई नमूना मतपत्रमार्फत बदर नहुने गरी मतदान गर्न सिकाइरहेका छन् ।
मतदातालाई सहज होस् भनेर निर्वाचन आयोगले सम्पूर्ण जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिसकेको छ । मतपत्रको पहिलो कोलममा अध्यक्ष/प्रमुख, दोस्रोमा उपाध्यक्ष/उपप्रमुख, तेस्रोमा वडाध्यक्ष, चौथोमा महिला वडा सदस्य, पाँचौंमा दलित महिला वडा सदस्य र छैटौंको दुई कोलममा वडा सदस्य दुई जना उम्मेदवारको निर्वाचन चिह्न राखिएको छ ।
प्रत्येक मतदाताले आफूलाई मन परेका उम्मेदवारको कोठाभित्र स्वतिक छापद्वारा मत सङ्केत गर्नुपर्छ । स्वस्तिक छाप र मसी प्रत्येक मतदान केन्द्रमा व्यवस्था गरिएको हुन्छ । मतदाताले अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुई जना गरी सात जनालाई मात्र मतदान गर्न पाउँछन् ।
कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ । यसैगरी स्वस्तिक छापको सट्टा औंठा छाप लगाएमा, मतपत्रमा केरमेट गरेमा, कुनै चिह्न कोरेमा, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा र मतपेटिका बाहिर मत खसालेमा त्यस्तो मत बदर हुने आयोगले जनाएको छ ।
मतदाताले मतदान केन्द्रमा राखिएको गोप्य मतदानस्थलमा गई आफूलाई मन परेको उम्मेदवारको चिह्नमा स्वस्तिक छाप लगाई, छापको मसी नलतपतिने गरी पट्याएर मतपेटिका खसाल्नु पर्छ ।
मत बदर हुने यी हुन ११ अवस्था
१) सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको ।
२) औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मतसङ्केत गरिएको ।
३) मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको ।
४) उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यन्त्र मत सङ्केत गरिएको ।
५) उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको ।
६) कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको ।
७) निर्वाचित गर्नुपर्ने संख्या वा बढी उम्मेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछट्टै मत सङ्केत गरिएको ।
८) मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको ।
९) आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको ।
१०) मतपेटिका भन्दा बाहिर राखिएको ।
११) जाली मतपत्र ।




