काठमाडौं । निर्वाचन आयोगले ‘सत्तारूढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको एक अभिव्यक्तिलाई ‘नोटिस’ मा राखेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं ?,’ उनले भनेकी थिइन्, ‘यो कुरा ध्यान दिएर करुवा सरुवा पार्टीलाई भोट नहाल्नूस् ।’
उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको एक पदाधिकारीले जानकारी दिए । ‘उहाँको अभिव्यक्ति आयोगको नोटिसमा परेको छ । अध्ययन गरिरहेका छौं’, ती पदाधिकारीले भने ।




