राजनीति

ठूला दलहरुले नै पालना गर्दैनन् निर्वाचन आचारसंहिता : भक्तपुरमा हटाइँदै प्रचार सामग्री

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम शुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ ।

विशेष गरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिइन् । उनका अनुसार नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याच जस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको छ ।

‘हामीले दैनिक अनुगमन गर्ने गरेका छौं, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको पाइएको छ, त्यस्तो अवस्थामा तत्कालै दलका नेतालाई जानकारी गराउँदै हटाउने काम गरेका छौं’, कँडेलले भनिन् ।

यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ । साथै, मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ ।

स्थानीय तहपछिका निर्वाचनमा केही मतदान केन्द्र ठाउँ सार्नुपर्ने अवस्था रहेकाले परिमार्जन गर्नुपर्ने देखिएको कँडेलले बताइन् । उनले आउँदो ३० गते आम मतदातालाई सुरक्षित, शान्त र सहजरूपमा मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिइन् ।

भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गरिएको नगरका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए । उनले आचारसंहिता उल्लङ्घन गर्नेमा ठूला दल नै रहेको उल्लेख गर्दै लिखित उजुरी नआए पनि मौखिक उजुरी र अनुगमनकका क्रममा त्यस्ता सामग्री हटाउने, फेरि नराख्न कडा निर्देशन दिने गरिएको बताए । दलहरूले घरदैलोका क्रममा राखेको प्रचार सामग्री हटाउँछौं भन्ने जवाफ दिने गरेको उनको भनाइ छ ।

मध्यपुरथिमिमा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ मतदाता रहेका छन् । नगरमा १७ मतदानस्थल र ४६ मतदान केन्द्र राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *