समाचार

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै दुई एआईजी चुनावकै बेला बिदामा

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आसन्न स्थानीय तह निर्वाचनकै मुखमा बिदामा बसेका छन् ।

आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले निर्वाचनकै बेला लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।

अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार वरीयताको १ नम्बरमा रहेका एआईजी पोखरेलले एक महिना लामो बिदा लिएका छन् । सहकुल थापाले १० दिनेको घर बिदा लिएका छन् ।

आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा नव नियुक्त आईजीपी सिंहभन्दा ९ महिना सिनियर छन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले एक महिनाअघि एआईजीमा बढुवा गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *