राजनीति

कञ्चनपुरमा कांग्रेसलाई छाडेर माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल

कञ्चनपुर । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय रमेश लेखक र एनपी साउदको गृह जिल्ला कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति नजुटेपछि कञ्चनपुरमा सत्ता गठबन्धन टुटेको हो । कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ ।

गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसलाई छाडेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका अध्यक्ष जीवनराज थापाले जानकारी दिए । ‘लगातारको छलफलपछि पनि सहमति जुट्न सकेन । कांग्रेसले आफ्नो अडान छाडेन,’ उनले भने, ‘अब कांग्रेस बाहेक माओवादी र समाजवादी मिलेर जाने भएका छौं ।’

उनका अनुसार ९ स्थानीय तहमध्ये ५ स्थानीय प्रमुख माओवादी केन्द्र र ४ स्थानीय तह प्रमुख समाजवादीको भागमा परेको छ । माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पाएको छ । एकीकृत समाजवादीको भागमा बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *