समाचार

साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता, सत्ता गठबन्धन अझै भागवण्डा मिलाउँदै

खोटाङ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार खोटाङका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) सहित प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् ।

ती दलले उम्मेदवार टुङ्ग्याएर आज साँझ ५ बजेसम्ममा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), खम्बुवान राष्ट्रिय मोर्चा र मङ्गोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षमा आइतबार तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मङ्गोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ ।
मङ्गोलले हलेसी तुवाचुङ -१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएको छ । हलेसी तुवाचुङ -९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क-१ राखाबाङ्देलमा माओवादी केन्द्रले वडाध्यक्षसहित चार सदस्यमा उम्मदवारी दर्ता गराएको छ ।

ऐसेलुखर्क-४ जलेश्वरी र ऐसेलुखर्क-५ महेश्वरीमा राप्रपाले वडाध्यक्षसहितमा मनोनयन दर्ता गराएको जनाएको छ । यस्तै, केपिलासगढी गाउँपालिका-१ फेदी, केपिलासगढी-३ बास्पानी र केपिलासगढी -५ सप्तेश्वरमा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।

बराहपोखरी गाउँपालिका-४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए ।
रावाबेंसी -२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेंसी-५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिका-२ रतन्छा र साकेला-५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *