समाचार

जग्गा जालसाजी आरोपित एमाले वडाध्यक्षसहित सात जना सार्वजनिक

संखुवासभा । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिस्ट्रेसन पास गरेको आरोपमा पक्राउ परेका संखुवासभा भोटखोलाका वडाध्यक्षसहित सात जनालाई प्रहरीले आज (शनिबार) सार्वजनिक गरेको छ । प्रहरीले दुई महिलासहित सात जनालाई सार्वजनिक गरेको हो ।

भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किङ्साङ भोटे, सुरेन्द्र तामाङ, कल्पना भोटे, डिमालाजुङ भोटे, अनिश गुरुङ, पासाङ शेर्पा र महेन्द्र पराजुलीलाई सार्वजनिक गरेको हो । डिएसपी लालध्वज सुवेदीका अनुसार वडाध्यक्ष किङ्साङ भोटे र उनका साथीहरुको मिलोमतोमा बिममाया तामाङको २७ रोपनी जग्गा अरुकै नाममा फागुन २ गते रजिस्ट्रेसन पास गरिएको छ । पक्राउ परेका भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सुवेदीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरुलाई ठगी र कीर्ते मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको छ । ‘बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेसन पास गरिएको छ’, सुवेदीले भने, ‘यसमा ठूलो गिरोह छ, हामी अझै अनुसन्धानमै छौं, केही व्यक्तिलाई पक्राउ गर्ने तयारीमा छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *