काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र आफूले असाध्यै दुःख भोगेको गुनासो गरेका छन् । आठौं महाधिवेशनबाट अध्यक्ष चुनिए पनि पदाधिकारी र कमिटीहरुलाई पूणर्ता दिन सकस खेपिरहेका प्रचण्डले आज (शनिबार) नुवाकोटमा दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै पार्टीभित्र भोगिरहेको कठिनाइ सुनाएका हुन् ।
दुःख भोगेको कुरा बाहिर ल्याउन उनले दिवंगत नेता बोगटीको सहारा लिए । ‘उहाँ (बोगटी) को निधनले नेतृत्वको हिसाबले मलाई ठूलो क्षति भयो । उहाँ नहुँदा पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र बन्न पुगेको छ । यस्तो अवस्थामा अपिल गर्न चाहन्छु, यो दुःखको बेलामा पोस्टबहादुर जस्तै सहज, सरल ढंगले आपसमा अन्तरक्रिया गरेर पार्टी एकताबद्ध बनाउन पहल गरौं,’ उनले भने ।
उनले डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको विगत पनि कोट्याए । ‘डाक्टर र वैद्यको हालत अहिले के छ ? डाक्टर र वैद्यले बेला-बेला सताउँथे । तिनीहरुको सातो खाने पोष्टबहादुर नै थिए । उहाँको निधनले असाधारण क्षति भयो,’ उनले भने ।
बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको समेत उनले बताएका छन् । ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो । सबैको सहयोग र सहमति जुटाउन सक्ने, संवाद गर्ने क्षमता उहाँमा थियो,’ उनले भने । राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण, सामाजिक रुपमान्तरण, आर्थिक समृद्धि, सुशासनको खाँचोमा बोगटीबाट सिक्ने धेरै कुरा रहेको उनको भनाइ थियो ।




