काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको समूहगत सुझाव पेस गर्ने क्रम बिहीबार सकिएको हो ।
आज दिउँसो १ बजेपछि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवम् छलफल हुँदैछ । आज तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिँदैछन् ।
आज अध्यक्षको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने र महाधिवेशन समापन गर्ने कार्यक्रम छ । अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले आज जवाफ दिने माओवादी प्रचार तथा प्रकाशन बिभागका सचिव गोविन्द आचार्यले जानकारी दिए ।
उनले छलफलका क्रममा समूहबाट धेरै सुझावहरु आएको जानकारी दिए । त्यस्तै सहभागीहरुले प्रतिवेदनमा आएका बिषयलाई कार्यान्वयन गर्नुपर्ने, एमसीसी यथास्थीतिमा पारित गर्न नहुने लगाएतका सुझाव दिएको उनले बताए ।
बन्दसत्रमा फरक मत कसैको पनि नआएको तर पुरक प्रस्ताव भने आएको जानकारी दिए । शुक्रबार बन्दसत्रमा सवै प्रतिवेदन पारित हुने र त्यसपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।




