काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज शनिवार काठमाडौंमा नगर अधिवेशन सकिएको छ ।
अधिवेशनको सकिएपनि उम्मेदवारी दर्ता, मतदान लगायत प्रक्रिया सुरु भएका छैनन् ।
निर्वाचनको आवश्यक तयारी पूरा हुन नसक्दा समयमै चुनाव गर्न नसकिएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताएका छन् ।
अधिवेशन सकिएपनि जनशक्ति अभावले समयमै मतदान प्रक्रियामा जान नसकिएको केसीले बताए । ‘हामीले अन्तिम तयारी सकेका छौं, अब केही समयमै मतदान प्रक्रिया सुरु हुन्छ,’ उनले भने । आजै निर्वाचन अगाडि बढाए रातभर मतदान गर्नुपर्नेछ ।
केही प्रतिनिधिले भने साँझ भइसकेकाले निर्वाचन प्रक्रिया आजै राति गर्ने कि भोलि सार्नेमा बहस समेत गरिरहेका छन् ।
काठमाडौं महानगरमा तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका निलकाजी शाक्य र प्रगतिमान रञ्जितले उम्मेदवारी सार्वजनिक गरेका छन् ।
काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष समेत रहेका शाक्य नेता प्रकाशमान सिंहनिकट मानिन्छन् भने रञ्जित नेता भीमसेनदास प्रधान निकट छन् ।




