रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण कार्य सम्पन्न भएको सौर्य विद्युत आयोजनाबाट ४ मेगावाट विद्युत उत्पादन गरी सञ्चालनमा आएको छ । सञ्चालित सौर्य विद्युत आयोजनाबाट पटक पटक लाईन सप्लाई अवरुद्ध हुँने समस्याबाट मुक्ति पाउने विश्वास आयोजनाले लिएको छ ।
अपि पावर कम्पनी लेमिटेडले सञ्चालनमा ल्याएको आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्टस नेपाल कम्पनीले गरेको हो ।
अपि पावर कम्पनी लिमिटेडले चन्द्रपुर नगरपालिका वडा नं.५ स्थित १२ बिगहा जग्गा भएको क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल जडान गरी ४ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना निर्माण गरेको हो ।
आयोजनाले वार्षिक ६९.२५ घन्टा विद्युत उत्पादन गर्ने छ । मासिक ५ लाख युनिट सम्म विद्युत उत्पादन हुँने कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले बताए ।
कोभिड १९ महामारीको दोस्रो लहरका कारण जारी रहेको निषेधाज्ञा पनि तोकिएको ४ महिना भित्र आयोजना तयार भएको उनले बताए । निर्माण कार्य सम्पन्न भए पछि गत साता नैं आयोजनाबाट उत्पादित विद्युत ३३ केभी प्रसारण लाइन मार्फत ३ किलोमिटरकाे दुरीमा रहेको चन्द्रपुर सव स्टेसनमा जडान गरिसकिएको छ ।
नेपालमा निजी क्षेत्रमा सञ्चालन आएको सौर्य विद्युतलाई ग्रिडसँग जोडिएको यो तेस्रो सौर्य विद्युत आयोजना हो ।
यस अघि लुम्बनी प्रदेशको बुटवल र प्रदेश २ को धनुषामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए । आयोजनाले उत्पादन गरेको विद्युत आगामी २५ वर्ष सम्म प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने जनाएको छ ।
नयाँ सौर्य प्लान्टले नविकरणिय उर्जा उत्पादनमा कोशेढुंगा साबित हुँने उद्देश्यबाट संघिय सरकारले मुलुको २ सय ५० पालिकाहरुमा ३ सय ७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ योजनाहरुमा योगदान दिदै आएको प्राधिकरण चन्द्रपुरका प्रमुख राजेश झाले बताए ।
उनले सौर्य उर्जाले बिद्युत आपूर्तिमा देखिएका समस्याहरु हल गर्दै जाने र पटक पटक विद्युत आपुर्ती ठप्प हुँने समस्याबाट उपभोक्ताहरु मुक्ति पाउँने विश्वास व्यक्त गरे ।




