काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै रहने भएको छ । मुलुकमा संक्रमणदर नघटेको र भाइरसको नयाँ प्रजाति फैलिएको कुरालाई मध्यनजर गर्दै सरकार तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा पुगेको हो ।
जोखिम न्यूनीकरण हुने वातावरण निर्माण भए खोल्ने तर, तत्काल खोलिहाल्ने सरकारको तयारी नरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताए । ‘परिस्थिति सहज हुँदै गएपछि सातामा एक(दुई उडान थप गर्दै अन्तर्राष्ट्रिय उडान खोल्ने हाम्रो सोच छ’ मन्त्री ढकालले भने, ‘त्यो परिस्थिती आए नियमित फ्लाइटलाई व्यवस्थित गर्दै अघि बढ्नेछौं ।’
सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडानमा लगाइएको रोक चाहिँ अर्को सूचना जारी नभएसम्म कायमै रहने मन्त्रालयले जनाएको छ । अहिले चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडान चाहिँ नियमित भैरहेका छन् । यस्ता विशेष खालका उडानलाई चाहिँ निरन्तरता दिइने मन्त्री ढकालको भनाई छ ।
सरकारले उत्तर छिमेकी चीन र मध्यमपूर्वको प्रमुख गन्तव्य कतारसँग सातामा एक उडान नियमित हुने गरि संचालन गर्न प्रक्रिया शुरू हुने जनाएको छ ।




