सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नम्बर ३ मा पर्ने मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पालकोट गाउँपालिकाका प्रत्येक वडालाई एक हजारका दरले मास्क वितरण गरेका छन् ।
साथै, मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय मास्क, पाँच थान पिपिई सेट, दुई लिटर स्यानिटाईजर हस्तान्तरण गरेका छन् ।
नेता बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई १० थान आईसोलेसन बेड र १० थान ४० लिटरको अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्ने घोषणासमेत गरे ।
पूर्वमन्त्री बस्नेतले जिल्लाका विभिन्न स्वास्थ्य संस्था र अस्पतालहरुमा आपतकालीन सेवा सन्चालन गर्नुको साथै बाह्रबिसेको अरनिको कलेज, सदाबहार अस्पताल खाडिचौर, चौतारा अस्पताल, मेलम्ची अस्पताल, नवलपुर अस्पताल, जलबिरे अस्पताल, नेपाल चीनको सिमा क्षेत्रमा पर्ने चाकु बजारलगायत विभिन्न ठाउँबाट हालमा अस्थायी रुपमा आवश्यकताअनुसार अक्सिजन सिलिन्डर र बेडहरु राखी सेवा सञ्चालन गर्ने बताए ।
दीर्घकालीन एवं स्थायी रुपमा भने सुनकोसी गाउँपालिका ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिडलगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिने भएको छ ।
पूर्वमन्त्री बस्नेतले जिल्लामा अक्सिजन प्लान्टसहितको दीर्घकालीन योजना अगाडि बढाएका छन् । अक्सिजन प्लान्ट निर्माणमा सुनकोसी गाउँपालिका, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, क्षमादेवी ग्रुपका राजकुमार बस्नेत र नेपाली कांगेस तरुण विभाग केन्द्रिय सदस्य पासाङ नोर्बु लामालगायत ले सहयोग गरेका छन् ।
अक्सिजन अभावमा जिल्लाका कुनै पनि बिरामीले मृत्युवरण गर्नु नपरोस् भन्दै नेता बस्नेतले २४ घण्टा एम्बुलेन्सको रुपमा पाँचवटा गाडी तयारी अवस्थामा राखेर हाई अलर्टका साथ तैनाथ रहेको बताए ।

– रामचन्द्र दुलाल




