पर्वत । पर्वतबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् ।
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उनले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराएका हुन् । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताए ।
प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ । सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमित सरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।
कुश्माका ९७, बिहादीका ६७, फलेवासका र १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणको नतिजा ढिलो आउँदा आम मानिसमा चिन्ता बढेको छ । कुश्मा–१२ का वडाध्यक्ष राजेन्द्र पौडेलले रिपोर्ट ढिलो आउँदा मानिसले फोन गरेर हैरान पार्न थालेका बताए । स्वास्थ्य निर्देशनालय र प्रयोगशालामा थन्किएका स्वाबको परीक्षण भए÷नभएका बारेमा जानकारी नभएपछि उनले केही दिन पर्खिनुहोस् भन्ने बाहेक कुनै जवाफ नभएको जानकारी दिए।
स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदविन्दु शर्माले धेरै जिल्लाबाट स्वाब बढी मात्रामा आउँदा प्रयोगशालामा लोड भएकाले नतिजा दिन ढिला भएको बताए । उनले केही रिपोर्ट पोखराबाट काठमाडौँको प्रयोगशालामा पनि पठाइएको र त्यहाँबाट रिपोर्ट दिन झनै ढिलो हुँदा समस्या भएको सुनाए । उनले सोमबारसम्म रिपोर्ट आइपुग्ने जानकारी दिए ।




