समाचार

चीन सरकारको सहयोग नभई व्यापारी शेर्पाले १८ हजार अक्सिजन सिलिन्डर ल्याएको खुलासा

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको निजी सचिवालयले व्यापारीले चीनबाट ल्याएको अक्सिजन सिलिन्डर चिनियाँ अनुदान सहयोगमा ल्याएको भनेर झुटो प्रचार गरेको खुलासा भएको छ । पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले लेखेको फेसबुक स्टाटसका कारण यस्तो झुटो प्रचार भएको खुलेको छ ।

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागेको शनिबार उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए । त्यो मिटिङमा पाण्डे पनि सहभागी थिए । तर उनले हतार हतार चिनियाँ सरकारको अनुदान सहयोगमा चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको फेसबुकमा लेखे । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार बनाए ।

शेर्पाले शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको बताएका छन् । तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको स्पष्ट पारेको छ ।

व्यावसायिक प्रयोजनका लागि ल्याएको सिलिण्डर ७५ सय खासनमा आइपुगिसकेको र तीमध्ये सोमबार २५ सय थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्ने शेर्पाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *