काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदैछ । पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्नेछन् ।
कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले खोप लगाउने अभियान स्थगित गरेको थियो । तर, कोरोना संक्रमण रोकथाम गर्न खोप अभियान पनि जारी राख्ने निर्णयअनुसार आजदेखि खोप लगाउन थालिएको हो ।
खोप लगाउन लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा १÷२ वटा खोप केन्द्र तय गरिएको छ । पहिलो खोप लगाएको मितिको आधारमा दोस्रो मात्रा लगाउन मिति तय गरिएको छ ।
काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक काठमाडौंमा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नुपर्नेछ ।




