काठमाडौं । संबैधानिक परिषदले संबैधानिक आयोगहरुमा रिक्त सबै पदहरुमा नियुक्तिका लागि सिफारिश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरुमा डा. हरि पौडेल–बाग्लुङ र डा. सुमित्रा श्रेष्ठ व्यांजुलाई नियुक्त गर्न सिफारिश गरेको हो ।
संबैधानिक परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार संबैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा माधब रेग्मी र सदस्यहरुमा कपिलबस्तुका माधब बेल्वासे, इलामका बीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मञ्जुकुमारीलाई सिफारिस गरेको छ ।
यसैगरी, निर्वाचन आयोगमा रुपन्देहीका सगुनशमसेर जबरा, प्राकृतिक स्रोत तथा बित्त आयोगमा पाँचथरका बिपिनराज निरौला र धनुषाका सुधाकुमारी झालाई संबैधानिक परिषदले नियुक्तिका लागि सिफारिश गरेको छ ।
त्यस्तै, राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका साबित्राकुमारी तिवारीलाई सिफारिश गरिएको छ ।
यसैगरी संबैधानिक परिषदले दलित आयोगमा काठमाडौंका सुन्दर पुर्कोटी, राष्ट्रिय समाबेशी आयोगको अध्यक्षमा काश्कीका डा. रामकृष्ण तिमल्सिना तथा सदस्यहरुमा पर्वतका पुष्पराज तिमल्सिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
त्यस्तै,आदिबासी जनजाति आयोगमा खोटाङका सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा सप्तरीका आभा कुमारी, थारु आयोगमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद समसुल हकलाई नियुक्तिका लागि संबैधानिक परिषदले सिफारिश गरेको छ ।




