काठमाडौं । एटिएम बुथ ह्याक गरी पैसा निकाल्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ परेका हुन् । सिआओलङले एटीएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनले एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।
‘विभिन्न बैंकहरूको एटीएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एकजना चिनियाँ नागरिक पक्राउ गरिएको हो।’
सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे । उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो। त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए। उनको साथमा १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।




