समाचार

इन्टरनेटको कालोबजारमा बेचिन्छ कोभिड खोप र पासपोर्ट

काठमाडौं । कोभिड–१९ को खोप, खोप पासपोर्ट र कोभिड संक्रमण नभएको पुष्टि गर्ने परीक्षणसम्बन्धी कागजपत्र ‘डार्कनेट’ मा विक्री भइरहेको छ।

इन्टरनेटको गोप्य बजारमा आस्ट्राजेनेका, स्पुत्निक, सिनोफार्म र जोनसन एन्ड जोनसनका कोभिड खोपको मूल्य ५०० डलरदेखि ७५० डलरसम्म राखिएको छ। आफ्नो नाम नखुलाउने विक्रेताले नक्कली खोप पाएको प्रमाणपत्रको मूल्य कम्तीमा १५० डलर तोकेका छन्।
अनुसन्धानकर्ताहरूले खोपसँग सम्बन्धित डार्कनेटमा हुने विज्ञापनमा ठूलो वृद्धि भएको देखेको बताए पनि ती खोपहरू वास्तविक भएको या नभएको पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।

डार्क वेब पनि भनिने डार्कनेट इन्टरनेटको त्यस्तो संसार हो जहाँ प्रवेश पाउन विशेष सुविधा भएका ब्राउजर आवश्यक हुन्छ।
साइबर सुरक्षा कम्पनी चेक पोइन्टका अनुसन्धानकर्ताहरूले गएको ज्यानुअरी महिनामा खोपसम्बन्धी विज्ञापन पहिलो पटक आएयता ह्याकिङ फोरम र अरू स्थानको निगरानी गरिरहेका छन्।

उनीहरूले आफूले देख्दै आएका विज्ञापनको सङ्ख्या तीनगुणाभन्दा बढी बढेर १,२०० पुगेको उल्लेख गरेका छन्। खोपका विक्रेताहरू अमेरिका, स्पेन, जर्मनी, फ्रान्स र रुसको भएको ठानिएको छ। उक्त टोलीले कैयौँ विज्ञापनहरू रुसी सिरिलिक लिपि र अङ्ग्रेजीमा भएको जनाएको छ।
विज्ञापन गरिएका अक्सफर्ड, आस्ट्राजेनेका खोप ५०० डलर, जोनसन एन्ड जोनसन अनि स्पुत्निक खोप ६०० डलर र सिनोफार्म खोपको ७५० डलर मूल्य राखेका छन्।

एक विक्रेताले अर्को दिनभित्रै उपलब्ध गराइदिने भन्दै एकै रात वा आपत्कालीन रूपमा खोप चाहिए सन्देश छाड्न भनेका छन्। ह्याकिङ फोरममा रहेको अर्को विज्ञापनले नक्कली कोभिड नभएको प्रमाणपत्र उपलब्ध गराउने उल्लेख छ। त्यसमा लेखिएको छ, ‘हामी विदेश यात्रा गर्न चाहने वा रोजगारीका लागि चाहिने कोभिड नभएको देखाउने परीक्षण उपलब्ध गराउँछौँ। दुईवटा नेगटिभ परीक्षण खरिद गर्नुहोस् र तेस्रो निःशुल्क पाउनुहोस्।’

कतिपय पर्यटन सेवा प्रदायकहरूले यात्रुहरूका लागि खोप प्राप्त गरेको प्रमाणपत्र अनिवार्य गरेका छन्। यूकेमा पनि खोप पासपोर्ट भनिने उक्त प्रणाली लागु गर्नेबारे विचार भइरहेको छ। आगन्तुकहरूले बार वा खेल मैदानमा प्रवेश गर्न खोप लिएको त्यस्तो प्रमाणपत्र देखाउनुपर्ने हुनसक्छ।

युरोपेली अधिकारीहरूले ग्रीन डिजिटल सर्टिफिकेटु को योजना घोषणा गरेका छन्। त्यसले कोभिडको खोप लिएको वा परीक्षणमा कोरोनाभाइरस नदेखिएको वा हालै सङ्क्रमणबाट मुक्त भएको व्यक्तिलाई ईयूभित्र भ्रमण गर्न अनुमति दिन्छ। नक्कली दस्तावेजहरू डार्कनेटमा विक्रीका लागि राखिनु कुनै नौलो कुरा होइन। चेक पोइन्टको अनुसन्धानले धेरै विक्रेताहरूले जाली दस्तावेजहरू विक्री गर्न खोजिरहेको पाएको छ।

यूकेका भएको अनुमान गरिएका एकजनाले खोप लगाएको प्रमाणपत्र खरिदकर्ता पत्ता लगाउन गाह्रो हुने बिट्कोइनलाई भुक्तानीको माध्यम बनाएर १५० डलरमा विक्रीका लागि राखेका छन्। अनुसन्धानकर्ताहरूले विक्रेतासँग सम्पर्क गर्दा उनीहरूलाई आफ्नो नाम र खोप लगाएको नक्कली मिति मात्रै दिन भनिएको थियो।

विक्रेताले पठाएको सन्देशमा भनिएको थियो, ‘तपाईँले चिन्ता लिनुपर्दैन’ यो हाम्रो काम हो ‘हामीले धेरैजनाको लागि यस्तो काम गरिदिएका छौँ र सबै राम्रोसँगै भइरहेको छ।’ चेक पोइन्टको उक्त अनुसन्धानका प्रमुख ओडेड भानुनूले अनौपचारिक माध्यमबाट खोप, खोप कार्ड वा कोभिड नभएको प्रमाणपत्र प्राप्त गर्न खोज्नु एकदमै जोखिमपूर्ण भएको बताए। उनका अनुसार ह्याकरहरू मानिसहरूको पैसा, सूचना र पहिचानका बारेमा बढी आकर्षित हुन्छन्।

भानुनूले अनुसन्धानका लागि उनको टोलीले एक विक्रेतासँग ७५० डलर तिरेर सिनोफार्म खोप खरिद गरेको थियो तर अझै उक्त खोप प्राप्त भइसकेको छैन। उनको टोलीले विक्रेता ठग भएको आफूलाई लागेको बताउँदै अरूले वास्तविक खोप विक्री गरिरहेको हुन सक्ने या हुन नसक्ने बताए। चेक पोइन्टले खोपको प्रमाणपत्रमा हुनसक्ने जालसाजीलाई नियन्त्रण गर्न देशहरूलाई संसारभरि क्यूआर कोड प्रणाली लागु गर्न सुझाव दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *