काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले सत्ता समीकरणलाई तीव्र बनाएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल गरेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग भेटवार्ता गरेका छन् ।
जसपाले पनि राजनीतिक परिस्थति फेरिएसँगै प्रचण्ड–माधव समूहसँग सहकार्य गर्न सक्ने जनाएको छ । तीन वर्षअघि तत्कालीन राजपा र संघीय समाजवादी पार्टीले केपी ओली सरकारलाई समर्थन गरेको थियो । संघीय समाजवादी त सरकारमै सामेल भएको थियो ।
अहिले राजपा र संघीय समाजवादी पार्टी मिलेर जसपा बनेको छ । जसपामा डा.बाबुराम भट्टराई पनि जोडिएका छन् ।




