काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पानी र सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र बुद्धिमतापूर्वक उपयोगका लागि हार्दिक अपिल गरेका छन् । विश्व सिमसार दिवसका अवसरमा गण्डकी प्रदेश राजधानी पोखरामा आज आयोजित कार्यक्रममा आफ्नो सन्देशमार्फत उनले भने – छ सिमसार क्षेत्र जैविक विविधताले सम्पन्न हुन्छन् र यिनले पानीमा रहेका प्रदूषण र फोहोरमैलालाई छाँदेर पृथ्वीको सतहलाई स्वच्छ र स्वस्थ राख्दछन् ।
स्वच्छ र स्वस्थ सिमसार क्षेत्रले प्रकृति र संस्कृतिलाई बचाएर राख्नुपर्नेमा जोड दिँदै उनले मौसमलाई सफा राख्न र पानीको चक्रलाई नियमित राख्न सिमसार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले यसको उचित व्यवस्थापन र संरक्षणमा लाग्न आग्रह गरे ।
“बाढी पहिरोले गर्दा हामीले हाम्रो प्रदेशमा गत वर्ष मात्र १२७ जना प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइले अकालमा ज्यान गुमाउनु पर्यो”, उनले आफ्नो सन्देशमा भनेका छन्, “पहाडी क्षेत्रमा अहिले पनि एक गाग्री पानी लिन पाँच घण्टासम्म लाग्ने गरेको अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको छ ।”
गण्डकी प्रदेशमा भएका तालको संरक्षण गर्ने, विकास गर्ने र त्यहाँबाट उत्पादन हुने वातावरणीय सेवा र वस्तुको सतत उपयोग गर्ने उद्देश्यले हामीले गण्डकी ताल संरक्षण तथा विकास प्राधिकरणसमेत गठन गरी काम पनि शुरु गरिसकेको अवगत गराउँदै मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, “अन्तर्राष्ट्रिय महत्व भएका पोखरा उपत्यकाका नौ वटा ताललाई रामसार सूचीमा सूचीकृत गर्न सक्नु हामी प्रदेशवासीका लागि खुशीको खबर हो ।” उनले फेवातालको चार किल्ला निर्धारण गर्न, सीमाङ्कन र नक्साङ्कन गर्न एउटा समिति बनाएर प्रदेश सरकारले कामको थालनी गरिसकेको उल्लेख गरे। ताल संरक्षण गर्न सरकारको एक्लो प्रयासले मात्र पुग्दैन । यसका लागि निजी क्षेत्र मुख्य गरी पर्यटन व्यवसायी, नागरिका समाज र सञ्चार क्षेत्रको पनि ठूलो भूमिका हुन्छ सिमसार क्षेत्र संरक्षणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको शुभकामना सन्देशमा उल्लेख छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा विकासमन्त्री किरण गुरुङले सिमसारमा आँखाले देख्न नसकिने अनगिन्ती जीवजन्तुको वासस्थान भएको बताउँदै यस्ता क्षेत्रको संरक्षणमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए । वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै जीव र जगत्को भविष्यसँग जोडिएको सिमसार तथा उर्बर भूमि जोगाउनुपर्नेमा उनको जोड थियो ।




