काठमाडौं । रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने निर्णय गरेपछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाउन शुरु गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिने निर्णय गरेका थिए । उनले दुई क्षेत्रका विद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेका थिए ।
प्टिनको निर्णयपछि बेलायतले पाँच वटा रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । जर्मनीले नोर्ड स्ट्रीम टू पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गरेको छ । अमेरिकाले प्रतिबन्धबारे छलफल गरिरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विद्रोहीलाई मान्यता दिने निर्णयअनुसार रुसी राष्ट्रपति पुटिनले रुसी सेना युक्रेनी क्षेत्रमा तैनाथ गर्न आदेश दिएअनुसार डोनेट्स्क र लुहान्स्कमा रुसी सैनिक प्रवेश गरेका छन् ।
रुसी राष्ट्रपति पुटिनको घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।




