काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने भएपछि प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठक अन्योलमा परेको छ ।
प्रधानमन्त्री ओलीले आजका लागि परिषद् बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बोलाएको बैठकमा उपस्थित नहुने जानकारी गराएपछि स्थगित भएको थियो । सोही कारण प्रधानमन्त्री ओलीले आज बैठक बोलाएका हुन् ।
तर, सभामुख सापकोटाले समन्वय नभएको, गृहकार्य नपुगेको र पूर्वतयारी पनि नभएको भन्दै नजाने निर्णय भएको बताइएको छ।
परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएको बताइन्छ । स्रोतका अनुसार नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहअनुसार नै सभामुख सापकोटाले यस्तो निर्णय गरेका हुन् ।
उता, कांग्रेस सभापति देउवालाई पनि संवैधानिक परिषदको बैठकमा सहभागी नहुन दबाब परेको छ । कांग्रेस युवा नेताहरुले उपसभामुखको चयन नभएसम्म नजान दबाब दिएका हुन् । मंगलबार कांग्रेस युवा नेता गगन थापाले सभापति देउवालाई उपसभामुख चयन भएपछि मात्र जान सल्लाह दिएका हुन् । एक वर्षदेखि उपसभामुख चयन हुन सकेको छैन । सभामुख र उपसभामुख नजाने भएपछि परिषदको बैठकमा गणपूरक संख्या नपुग्ने देखिएको छ ।
अहिले विभिन्न निकायमा गरेर ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त गरी ३ पद खाली छ । त्यस्तै, निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । राष्ट्रिय दलित आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । समावेशी आयोगमा अध्यक्ष सहित ४ पद रिक्त छ । आदिवासी तथा जनजाती आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । मधेशी आयोगमा ४ आयुक्त पद रिक्त छ । थारु आयोगमा ४ आयुक्त पद रिक्त छ । मुस्लिम आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय मानव अधिकार आयोगमा केही समय अघि मात्रै अध्यक्ष सहित ४ आयुक्तको पद एकै पटक रिक्त भएपछि त्यहाँ पनि अध्यक्ष सहित ५ पद रिक्त छ ।




