रोल्पा । रोल्पामा एकैदिन तीन जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काका अनुसार जिल्लाका छुट्टाछुट्टै स्थानमा गत बुधबार ३ जनाले आत्महत्या गरेका हुन् । रोल्पा नगरपालिका–१० धबाङकी २२ वर्षिया आशा पुनले आफ्नै घरको बरण्डामा सलको पासो लगाई आत्महत्या गरिन् । पुनलाई आत्महत्या गर्नुपर्ने बाध्यता किन सिर्जना भयो यस विषयमा प्रहरीले ब्यापक अनुसन्धान गरिरहेको छ ।
यस्तै बुधबार साँझ सुनछहरी गाउँपालिका वडा नं. ६ की २१ वर्षिया ममता घर्तीपुनले सुनिल स्मृति गाउँपालिका ५ क्वालीगाउँ स्थित माइती घरमा नाम नखुलेको बिसादी सेवन गरिन् । तत्काल आफन्तले फेलापारी उपचारको लागि सुलिचौर लैजाँदै गर्दा बाटोमै उनको निधन भयो । उनका श्रीमान् साथमै रहको प्रहरीले जनाएको छ । तर के कारणले उनले बिष सेवन गरिन् र आत्महत्याको बाटो रोजिन् यस विषयमा रोल्पा प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी बुधबार साँझ लुंग्री गाउँपालिका ४ ठूलो नम्जाकी १७ वर्षिया पार्वती खड्काले आफू सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरिन् । उनकी आमाले छोरीलाई झुण्डिएको अवस्थामा फेला पारी पासो फुकाई हेर्दा उनको मृत्यु भइसकेको थियो । किन र के कारणले उनले आत्महत्या गरिन् प्रहरीले यसकोे कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ ।
यि त प्रतिनिधि पात्रमात्र हुन् । जिल्लामा आत्महत्या गर्नेहरुरुको संख्या दिनानुदिन बढ्दो क्रममा छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता प्रहरी निरिक्षक खड्काका अनुसार यस आर्थिक वर्षमा मात्र एक दर्जन बढीले आत्महत्या गरिसकेका छन् । पछिल्ला दिनमा जिल्लामा आत्महत्या ठूलो समस्याको रुपमा रहेको उहाँको भनाइ छ ।




