काठमाडौं । दुई पार्टी एकिकरणपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बस्दै छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्ति लगायत विषयमा छलफल हुने बताइएको छ । विवाद समाधानका लागि महासचिवको संयोजकत्वमा बनाइएको कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ ।सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सचिवालय बैठकले प्रधानमन्त्रीलाई सुझाव दिने छ । यसअघि दुई अध्यक्षबीच लामो समय चलेको विवाद समाधानका क्रममा संघीय सरकारका मन्त्री, तथा सन्तोषजनक काम गर्न नसकेका मुख्यमन्त्रीको फेरबदलसम्मको विषय उठेको थियो ।
गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने, अर्का अध्यक्ष प्रचण्डले पार्टीमा कार्यकारी भएर पार्टीको नेतृत्व लिने र आगामी चैतमा एकता महाधिवेशन गर्ने लगायत निर्णय गरेको थियो । एकताअघि पूर्व माओवादी केन्द्रको पार्टी कार्यलय रहेको सो ठाउँलाई एकतापछि जनवर्गीय संगठनहरूको कार्यालय बनाइएको छ भने एकीकृत नेकपाको कार्यालय भने तत्काली नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।




