दमौली । तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश मल्ललाई २२ वर्षपछि प्रहरीले सोमबार पक्राउ गरेको छ । किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा मल्ललाई अदालतले दोषी ठहर गरेको थियो । मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले घरबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुका डिएसपी युवराज तिमल्सेनाले बताए ।
मल्लले २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप लागेको थियो ।
बेलायती सेनाका लाहुरे होमबहादुरलाई दुई लाख रुपैयाँ दिई राजुलाई उनको छोरा भनी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बनाउन मल्लले सेटिङ मिलाएको आरोप लागेको थियो । नागरिकता प्राप्त गरेपछि राजु हङकङ गएका थिए । उनको केही वर्ष अघि हङकङ मै मृत्यु भएको थियो ।
होमबहादुर अहिले ८५ वर्षका भएका छन् । नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २ गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार रहेका थिए । धेरै वर्ष विदेश बसेर मल्ल नेपाल फर्किइ राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।
पक्राउ परेका मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा २२ वर्ष पुरानो मुद्धाका अभियुक्त वडा अध्यक्ष मल्ललाई पक्राउ गरिएको डिएसपी तिमिल्सेनाले बताए ।




