खेलकुद

ए डिभिजन लिग: संकटासँग हार्यो पुलिस

काठमाडौं।संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध ३–० को शानदार जित निकालेको छ। च्यासल रंगशालामा भएको खेलको १२औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले पछि परेको पुलिसले खेलमा फर्किने कोसिस गरेको थियो। यद्यपि, अन्तिमको १० मिनेट सम्हालिन नसक्दा थप दुई गोल खायो।

रोशन पहरीले ८०औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए। त्यसको ६ मिनेट नबित्दै सुरज जिउ ठकुरीले गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै संकटाले चार अंक जोडेको छ। पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको संकटा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १–० का नतिजामा पराजित भएको थियो।

सुरुआती तीन खेलमा जितविहीन नेपाल पुलिस क्लबको खराब यात्रा कायमै छ। पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले हारेको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले हारेको थियो।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलविहीन बराबरी खेलेका छन्। जावलाखेलले तीन खेलबाट सात अंक जोडेको छ। पहिलो खेलमा मछिन्द्र फुटबल क्लबलाई ३–१ गोलको नतिजामा पराजित गरेको जावलाखेलले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको नतिजामा हराएको थियो।

बराबरीसँगै एपीएफले चार अंक बनाएको छ। पहिलो खेलमा थ्री स्टारलाई २–० ले हराएको एपीएफ दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले हारेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *